ट्रेन्डिङ

चुरियामाईमा बसको ब्रेक फेल, ‘ब्याक’मा मोटरसाइकल किचिदाँ ६ जना घाइते

वीरगन्ज । बाराको चुरियामाई मन्दिर नजिकै आज बिहान भएको एक दुर्घटनामा दुई मोटरसाइकलमा सवार ६ जना घाइते भएका छन्।

ब्रेक फेल भएर पछाडि सरेको यात्रुबाहक बसले दुई मोटरसाइकललाई किचेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जका अनुसार बिहान करिब १० बजे जनकपुरबाट काठमाडौँतर्फ गइरहेको ना ७ ख ८५३७ नम्बरको बस पथलैया–हेटौंडा सडकखण्डको उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल भयो र बस अनियन्त्रित भई पछाडि सर्न पुग्यो। पछाडि सर्ने क्रममा बसले सोही दिशामा रहेका दुई मोटरसाइकल (ना १२ प ३३६० र म.प्र. ०३–०२४ प ४४९५० लाई किचेको थियो।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार बाराको भरवलिया गाउँ बस्ने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी जयराज पण्डितका अनुसार घाइते हुनेहरूमा २५ वर्षीय मकेश्वर पटेल, २२ वर्षीया कलिता देवी, २० वर्षीया तानेया पटेल, २७ वर्षीय कञ्चन कुमार पटेल, २६ वर्षीया कविता देवी र ३ वर्षीय बालक आयुष पटेल रहेका छन्।

घाइतेहरूको सहकारी अस्पताल मकवानपुर लगायतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

दुर्घटनालगत्तै बसका चालक फरार रहेका छन् र प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ। दुर्घटनामा परेका बस र दुवै मोटरसाइकल घटनास्थलमै छन्।

दुर्घटनाका कारण अवरुद्ध बनेको पथलैया–हेटौंडा सडकखण्ड अहिले एकतर्फी रूपमा सञ्चालनमा आइसकेको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै