सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा माटोको ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ९ः२० बजे माटो खन्ने क्रममा अचानक ढिस्को खसेर स्थानीय चार जना गम्भीर घाइते भएको सह प्रवक्ता प्रहरी निरीक्षक बलिष्टर सिंहले बताए ।
घाइतेलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारको क्रममा बिहान पौने ११ बजे चिकित्सकले सबैलाई मृत घोषणा गरेको सर्लाही प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेहरुमा महोत्तरी सोनमा गाउँपालिका–६ मगरथाना निवासी बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, उदय मंसुरकी ६ वर्षीया छोरी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीया छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षीया छोरी नर्गिस खातुन रहेका छन् ।
घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब २.५ किलोमिटर पूर्व पर्ने प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।