काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर विशेष पूजाआराधना गरी मनाइँदैछ ।
महानवमीका दिन घटस्थापनामा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने परम्परा छ । दसैँघर, कोतलगायत राज्यका देवी मन्दिर र शक्तिपीठमा आज दुर्गा भवानीको विशेष पूजा, दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ हुने गर्दछ । यस अवसरमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिने प्रचलन छ भने शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल बलि दिई पायस चढाउने गर्दछन् ।
धेरै स्थानमा महाष्टमीका दिन बलि दिइए पनि महानवमीका दिन ‘मार हान्ने’ परम्परा चलनमा रहेको पाइन्छ ।
मार्कण्डेय पुराणअनुसार यिनै तिथिमा चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकाले महानवमीलाई विशेष महत्त्वका साथ मनाइन्छ । कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन अझै जीवित छ ।
आज नवरात्रको अन्तिम दिन भएकाले देशभरका शक्तिपीठमा दर्शनार्थी भक्तजनको भीड लागेको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन राखिएको जमरा भएको पूजाकोठा वा दसैँघरमा नवदुर्गामध्येकी नवौँ देवी ‘सिद्धिदात्री’को पूजा गरी कन्यापूजन तथा दक्षिणा दिने परम्परा छ । यसै अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष आराधना गरिन्छ ।
महानवमीमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गर्ने प्रचलन छ । हनुमानढोका दरबार, नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा आज सम्पन्न हुँदैछ ।