ट्रेन्डिङ

धनुषा प्रहरीको अनुरोध, चाडपर्वमा ‘सजग बनौं, सुरक्षित रहौं’

जनकपुरधाम । बडा दशैँ, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाले समस्त जिल्लावासीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै चाडपर्वको सुरक्षा र शान्ति कायम राख्न विशेष अनुरोध जारी गरेको छ।

‘गाउँ घर टोल र नगरी सुख दुःखमा नेपाल प्रहरी’ भन्ने नारालाई चरितार्थ गर्दै धनुषा प्रहरीले चाडपर्वलाई सभ्य र शिष्ट तरिकाले मनाउन जोड दिएको छ।

प्रहरी कार्यालयका अनुसार चाडपर्वको उल्लासका बीच हुने अनावश्यक भिडभाड, चोरी, लुटपाट, गुण्डागर्दी र सवारी दुर्घटना जस्ता अप्रिय घटनाहरूबाट जोगिन आम नागरिकले उच्च सजगता अपनाउन जरुरी छ। जुवातास जस्ता कानूनले निषेध गरेका, हारजित हुने खेलहरू नखेल्न र अरूलाई पनि नखेलाउन प्रहरीले स्पष्ट आग्रह गरेको छ।

घर बाहिर निस्कँदा आफ्नो सम्पत्तिको सुरक्षाका लागि झ्याल, ढोका तथा ताल्चा राम्रोसँग लगाएको यकिन गरेर मात्र निस्कने बानी बसाल्न प्रहरीले सुझाएको छ। व्यक्तिगत सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै नागरिकहरूलाई आफ्नो यात्राको विस्तृत विवरण सामाजिक सञ्जालमा पोष्ट नगर्न अनुरोध गरिएको छ, जसले गर्दा घर खाली रहेको सङ्केत नजाओस्।

रातको समयमा अपरिचित वा पहिचान नखुलेका व्यक्तिहरूका लागि ढोका नखोल्न र बालबालिकालाई एक्लै नपठाउन, बरु विश्वासिलो व्यक्तिको साथमा मात्र पठाउने व्यवस्था मिलाउन प्रहरीले आग्रह गरेको छ। चाडपर्वमा पटकाको प्रयोग गर्दा गम्भीर चोटपटक वा अङ्गभङ्ग हुनसक्ने भन्दै बालबालिकाहरूलाई प्रज्वलनशील पदार्थबाट टाढा राख्न पनि सबैलाई सचेत गराइएको छ।

यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय धनुषाले मादक पदार्थ सेवन गरी कुनै पनि प्रकारको सवारी साधन नचलाउन चालकहरूलाई कडा निर्देशन दिएको छ। सवारी चलाउँदा अनिवार्य रूपमा सिट बेल्ट र हेल्मेटको प्रयोग गर्न तथा साथमा सवारी साधनको कागजात अनिवार्य बोक्न भनिएको छ।

सवारी चालक अनुमति पत्र नभएका व्यक्तिलाई आफ्नो सवारी साधन दिनु ठूलो जोखिम हुने भन्दै त्यसो नगर्न आग्रह गरिएको छ। यातायात व्यवसायीलाई सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नराख्न र यात्रुलाई पनि छतमा बसेर वा झुन्डिएर जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गरिएको छ। बढी भाडा लिएमा वा अन्य कुनै समस्या परेमा तत्कालै नजिकको प्रहरी वा यात्रु सहायता कक्षमा खबर गर्न सकिनेछ।

बजार व्यवस्थापनमा पनि प्रहरी सक्रिय देखिएको छ। चाडपर्वको मौकामा हुने कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको जानकारी भएमा तुरुन्त प्रहरीलाई खबर गर्न नागरिकहरूलाई आह्वान गरिएको छ।

होटल तथा लज सञ्चालकहरूले सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने भएको छ। आगन्तुक पाहुनाहरू प्रवेश गर्ने मुख्य ढोका तथा काउन्टरमा पहिचान खुल्ने गरी सीसीटिभी क्यामेरा राख्न र पाहुनाहरूको पहिचान खुल्ने कागजात सहित दुरुस्त अभिलेख राख्न प्रहरीले निर्देशन दिएको छ। साथै, तोकिएको समयमा अनिवार्य रूपमा होटलरलज बन्द गर्न पनि भनिएको छ।

कुनै प्रकारको शंकास्पद चीजवस्तु, मानिसहरूको हिँडडुल वा कुनै अप्रिय घटनाबारे जानकारी भएमा तत्काल प्रहरी परिचालन कक्षको हट लाईन १०० वा अन्य तोकिएका सम्पर्क नम्बरहरूमा खबर गर्न धनुषा प्रहरीले सम्पूर्ण जिल्लावासीहरूमा हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै