ट्रेन्डिङ

माओवादी केन्द्रको निर्णयः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुख्य एजेन्डा, विशेष महाधिवेशन मङ्सिरमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेन्डाका रूपमा अघि सार्ने भएको छ ।

यसबारे पार्टीका मातहत संरचनालाई सर्कुलर पठाइएको छ ।

पार्टीको आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक असोज ९ र १० गते कमलादीस्थित प्रज्ञाभवनमा सम्पन्न भएको थियो ।

उक्त बैठकका निर्णयहरू महाधिवेशन आयोजक समितिका संयोजकसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरमा कमिटीहरूमा पठाइएको सर्कुलरमार्फत कार्यान्वयनमा ल्याइएको हो ।

सर्कुलरमा तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र दलहरूको सिफारिसमा विज्ञहरूको सहभागितामा मन्त्रीपरिषद् गठनजस्ता मुद्दा निरन्तर उठाइने उल्लेख छ ।

यस्तै, माओवादी केन्द्रले २०८२ मङ्सिरको अन्तिम सातासम्म विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ भने संयोजकमा अध्यक्ष प्रचण्ड चयन भएका छन् । बहुपदको व्यवस्था स्थगित गर्दै संयोजकको नेतृत्वमा सचिवालय गठन गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकताको पहल गर्ने र एकता भए विशेष महाधिवेशनलाई नै ‘एकता महाधिवेशन’का रूपमा रूपान्तरण गर्ने निष्कर्ष निकालेको छ ।

त्यसैगरी, संगठनभित्र शुद्धीकरण र सुधारका लागि ठोस कदम चालिने माओवादीले जनाएको छ ।

यसमा सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन, नेताकार्यकर्ताको जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्ड कार्यान्वयन, प्रविधिमैत्री कार्यालय निर्माण तथा हरेक संरचनामा एक तिहाइ युवाको सहभागिता सुनिश्चित गर्ने योजना समावेश गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै