वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले भारततर्फ लैजान लागिएको ठूलो परिमाणको लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणको टोलीले विशेष सूचनाको आधारमा छिपहरमाई गाउँपालिका–४ बन्जारीस्थित भिष्वा–जानकी टोला सडक खण्डमा जाँच गर्ने क्रममा बीआर २२ जे ३५५० नम्बरको भारतीय मोटरसाइकलमा फल्स बटम बनाई लुकाइएको ९ किलो ५२२ ग्राम चरेश फेला पारेको हो।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वडा नम्बर ३७ का ३१ वर्षीय गुलाम मोहमद रहेका छन्।
मोहमदको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाईलसमेत बरामद गरिएको सशस्त्र प्रहरी प्रमुख पुरन चन्द भट्टले जानकारी दिए।
बरामद चरेश र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।