ट्रेन्डिङ

जेरी, व्यापार र सीमा पारको संगम बनेको वीरगन्ज मेला

वीरगन्ज । वीरगन्जको मुटु घण्टाघर यतिबेला दशैँको आगमनसँगै मधेशकै सबैभन्दा ठूलो मेलाको रूपमा रूपान्तरण भएको छ।

घटस्थापनाको अघिल्लो दिनदेखि नै सुरु भएको मेलामा भीडभाड यसरी बढेको छ कि घण्टाघर वरिपरि पाइला राख्ने ठाउँसमेत मुस्किल बनेको छ।

सधैँ सवारी साधनको कोलाहल रहने यो क्षेत्र अहिले जेरी (जिलेबी)को सुगन्धले भरिएको छ। तातो तेलमा पाकेको मिठासमय जेरीको बास्नाले माइस्थान, महाविरस्थान, अलखिया मठ हुँदै विर्तासम्मको मुख्य सडक छेउछाउमा पसल थापेका मिठाई व्यापारी, खेलौना र कपडा पसलेहरूको रौनकलाई झनै बढाएको छ।

मेलाको ‘प्राण’ जेरी र व्यापार
घण्टाघर मेलाको मुख्य आकर्षण नै यहाँ पाइने तात्तातो जेरी बनेको छ। यस क्षेत्रमा दुई सयभन्दा बढी जेरी पसलहरू सञ्चालनमा छन्, जसले भीडलाई आफूतिर तानिरहेका छन्।

भारत विहारको आदापुर थाना, हरपुरका जेरी व्यापारी आकाश कुमारका अनुसार घटस्थापनाअघिबाटै उनले दैनिक ३० किलोभन्दा बढी जेरी बिक्री गरिरहेका छन्। घकिलोको २०० रुपैयाँमा बेच्दा मैले दैनिक ६ हजार रुपैयाँभन्दा बढीको कारोबार गर्छु,’ उनले बताए ।

त्यस्तै, घण्टाघरबाट सिडिओ कार्यालय जाने बाटोको कुनामा पसल थापेका अर्का व्यापारी रामबिहारी पनि दैनिक ५ हजार रुपैयाँभन्दा बढीको जेरी बिक्री हुने गरेको बताउँछन्। उनको ठम्याइ छ, गहवामाइँ मन्दिरको दर्शन गर्न आउनेहरूको बाक्लो उपस्थिति र जेरी मधेशको पहिचान दिने मिठाई हुनुले यसको माग उच्च रहेको छ।

करिब ६ वर्षदेखि हरेक दशैँ मेलामा पसल खोल्दै आएका रामबिहारीका अनुसार भीड भएको दिन ‘हातैले गन्न नसकिने कमाई’ हुने गरेको छ।

मेलामा भारतीय व्यापारीको बाहुल्यता

वीरगन्जको यो दशैँ मेलामा मिठाई तथा अन्य सानासाना व्यापारमा भारतीय व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको पाइएको छ। जेरीको उच्च खपत हुने भएकाले भारत विहारको आदापुर थाना, हरपुर गाउँबाट मात्रै ५० जनाभन्दा बढी जेरी व्यापारीहरू पसल थाप्न आएका छन्।

जेरी व्यापारी अर्जुन कुमारका अनुसार, उनको गाउँका धेरै व्यापारीले यहाँ राम्रो आम्दानी गरिरहेका छन्। मेला अवधिभर एक पसलेले कम्तीमा ५० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्ने दाबी उनीहरूले गरेका छन्। १० दिनमै राम्रो आम्दानी हुने भएकाले भारतीय व्यापारीहरूको ध्यान जेरी पसलमा केन्द्रित भएको हो।

संस्कृति, व्यापार र स्वादको संगम

यद्यपि, वीरगन्जको यो मेला केवल जेरीमा मात्र सीमित छैन। यहाँ खेलौना, कस्मेटिक्स, कपडा, जुत्ता–चप्पल, तथा विभिन्न परिकारका खाजा पसलहरूको पनि भरपुर विकल्प छ। साँझ ढल्किँदै जाँदा घण्टाघर वरिपरिको झलमल बत्तीले मेलालाई झनै मनमोहक बनाउँछ।

पर्सा, बारा, रौतहट मात्र नभई भारतको सिमानाबाट समेत हजारौं मानिस यो दशैँको उल्लास र जेरीको मिठासमा रम्न वीरगन्ज आइपुग्छन्। जानकारहरूका अनुसार, दशैँको उमंग, सीमा पारको संगम र तातो जेरीको सुगन्धले यो मेलालाई मधेशकै ठूलो मेला मात्र नभएर संस्कृति, व्यापार र स्वादको साझा पहिचान बनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै