ट्रेन्डिङ

मधेशमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन ४ दल सहमत, मुख्यमन्त्रीमा कृष्णा यादव

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश सिंह नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि प्रमुख चार राजनीतिक दलहरूबीच निर्णायक सहमति जुटेको छ।

सिंह सरकार ढलेको करिब दुई सातापछि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने गरी सहमति भएको जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले बताए ।

पुरानै समीकरणका दलहरू कांग्रेस, एमाले, जनमत र लोसपा को सहभागितामा नयाँ सरकार बन्ने टुङ्गो लागेको यादवले बताएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्ने सहमति बनेको उनले जनाएका छन्।

मुख्यमन्त्री सतिश सिंहले सत्तारूढ दुई दलले समर्थन फिर्ता लिएपछि पनि राजीनामा नदिएकाले चार दलको बैठकले नयाँ सरकार गठनको पहल थालेको हो। जनमत दलका नेता महेश यादवका अनुसार चारवटै दलबीच सहमति बनिसकेको छ र प्रदेश प्रमुख जनकपुर फर्किएलगत्तै बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणका लागि पत्र पेश गर्ने तयारी छ।

मधेश प्रदेश सभामा सरकार गठनका लागि ५४ जना सांसदको बहुमत आवश्यक पर्छ। नयाँ समीकरणमा रहेका दलहरूसँग सहज बहुमत छ ।

नेपाली कांग्रेसका २२ सांसद, नेकपा एमालेका २४ सांसद (सभामुखसहित, एक जना निलम्बनबाहेक), जनमत पार्टीका १३ सांसद, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ८ सांसद (एक जना निलम्बनबाहेक) रहेको छ । यो संख्या जोड्दा नयाँ गठबन्धनसँग ६७ सांसदको स्पष्ट बहुमत पुग्ने देखिन्छ, जुन सरकार बनाउन पर्याप्त छ।

यद्यपि, मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भए पनि कुन पार्टीलाई कतिवटा मन्त्रालय दिने भन्ने विषयमा भने सहमति जुट्न बाँकी रहेको जनमत संसदीय दलका नेता यादव बताउँछन् ।

यता, मुख्यमन्त्रीका लागि सहमति जुटेको भनिएका कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले भने सरकार गठनबारे अहिले कुनै मूर्तरुप लिइनसकेको प्रतिक्रिया दिएका छन् । सरकार गठनका लागि छलफल चलिरहे पनि कुनै ठोस निर्णय भइनसकेको उनको भनाइ छ।

जनमत पार्टीले भदौ २८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने त्यसपछि कांग्रेसले पनि बुधबार सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेको थियो।

अबको केही दिनमा प्रदेश प्रमुखलाई बहुमतको पत्र बुझाउने तयारीसँगै मधेशमा नयाँ सरकार गठनको प्रक्रियाले तीव्रता पाउने देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै