सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ ।
ब्रहम्पुरी गाउँपालिका –५ स्थित हुलाकी सडकखण्डमा आज राति स्कारपियो गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल ब्रहम्पुरी–२ निवासी चालक २३ वर्षीय अंकित चौधरी र २५ वर्षीय रोहित सहनीको गम्भीर चोटका कारण मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।
सर्लाही प्रहरीका अनुसार जिल्लाको पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एमएच ०४ डीजे १२९७ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई शुक्रवार राति करिब ८ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।
चौधरीको जनकपुरस्थित राम जानकी अस्पतालमा उपचारको क्रममा राति ११:४५ बजे मृत्यु भएको हो भने सहनीको राति १०:२० बजे घटनास्थल नजिकैको अस्पतालमा नै मृत्यु भएको सर्लाहे प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलको पछाडिको सिटमा सवार २३ वर्षीय शिवशंकर पण्डित गम्भीर घाइते भएका छन्।
उनको हात र खुट्टामा चोट लागेको छ र थप उपचारका लागि बाराको एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि स्कारपियो गाडी चालक फरार रहेका छन् भने गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बिशाल बहादुर बुढाथोकीले बताए ।