वीरगन्ज । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनअघि नेपालले राष्ट्रिय सभाका १९ सदस्यका लागि अनिवार्य निर्वाचनको सामना गर्नुपर्ने भएको छ।
संविधान र कानुनको व्यवस्थाअनुसार राष्ट्रिय सभाको स्थायी चरित्र कायम राख्नका लागि रिक्त हुने सदस्यहरूको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता सरकार र निर्वाचन आयोगसामु छ।
तत्कालीन केपी ओली नेतृत्वको सरकार जेनजी विद्रोहका कारण ढलेपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरे पनि राष्ट्रिय सभाको निर्वाचन प्रक्रियामा कुनै अवरोध आउने देखिँदैन।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार, कुनै सदस्यको पदावधि समाप्त भई पद रिक्त हुनुभन्दा ३५ दिन पहिले नै निर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था छ। संविधानको धारा ८६ मा राष्ट्रिय सभा एक स्थायी सभा हुने उल्लेख छ, जसअनुसार एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। यसरी रिक्त हुने एक तिहाइ सदस्यका लागि प्रत्येक दुई वर्षमा माघको दोस्रो हप्तामा निर्वाचन हुँदै आएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘संविधान अनुसार हामीले यो निर्वाचन समयमा नै सम्पन्न गर्नुपर्छ र यसका लागि आन्तरिक तयारीमा छौँ’ भन्दै तयारी सुरु भइसकेको जानकारी दिएका छन्।
आगामी फागुनमा पदावधि समाप्त हुने १९ जना राष्ट्रिय सभा सदस्यहरूमा विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरू छन् ।
नेकपा एमालेबाट ८ जना जसमध्ये इन्दिरादेवी गौतम, गोपाल भट्टराई, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे लगायत छन्।
माओवादी केन्द्रबाट ७ जना जसमध्ये गोपीबहादुर सार्की, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर र नारायणकाजी श्रेष्ठ लगायत छन्।
अन्य दलबाट एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल, जसपा नेपालबाट मृगेन्द्रकुमार सिंह यादव र लोसपा नेपालबाट शेखरकुमार सिंहको पदावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको पद पनि रिक्त हुँदैछ।
राष्ट्रिय सभाको निर्वाचन प्रदेश सभा सदस्य, नगरपालिका प्रमुखरउपप्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष रहेको निर्वाचन मण्डलद्वारा सम्पन्न हुन्छ। राष्ट्रिय जनगणना २०७८ अनुसार आयोगले यसपटक प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ निर्धारण गरेको छ। यस निर्वाचनको परिणामले राष्ट्रिय सभामा दलहरूको आगामी शक्ति सन्तुलनलाई निर्धारण गर्नेछ।