जनकपुर । मधेस प्रदेशमा सरकारको भविष्य अनिश्चित बन्दै गएको छ। मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई समर्थन दिने वा फिर्ता लिनेबारे छलफल गर्न नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको बैठक बुधबार बिहानदेखि जनकपुरमा जारी छ।
बैठकमा सहभागी अधिकांश सांसदहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन्। प्रदेश सांसद श्याम पटेलका अनुसार बैठकमा उपस्थित सांसदको बहुमतले तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिएका छन्। उनले भने, “एक–दुई जना सांसदले विश्वासको मतको दिनसम्म पर्खनुपर्ने धारणा राखे पनि बहुमत सांसदले आजै समर्थन फिर्ता लिनुपर्नेमा जोड दिएका छन्।”
संसदीय दलको नेताले बैठकको निष्कर्षअनुसार आजै निर्णय गर्ने सम्भावना रहेको पटेलले बताए। तर दलका नेता कृष्याा यादवले भने बैठक अझै जारी रहेको र निष्कर्षपछि मात्र आधिकारिक निर्णय आउने प्रतिक्रिया दिएका छन्।
यसअघि जेनजी आन्दोलन समाप्त भएको केही दिनमै सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्नो मुख्यमन्त्रीकै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षी दलको भूमिकामा जाने निर्णय गरेको थियो। गत भदौ २८ गते जनमतले प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाएको थियो।
जनमतको कदमपछि कांग्रेसभित्र पनि गठबन्धनको समीकरणबारे छलफल तीव्र बनेको हो। जनमत, कांग्रेस, एमाले र लोसपाको समर्थनमा बनेको वर्तमान सरकार जनमतको समर्थन फिर्तासँगै अल्पमतको जोखिममा परेको छ।
मुख्यमन्त्री सिंहले भने संघीयता जोगाउनका लागि सरकार छाड्ने मनसाय नरहेको बताउँदै आएका छन्। उनले विश्वासको मतको तयारीका लागि दलहरूबीच परामर्श जारी राखेको जनाइएको छ। संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले राजीनामा नदिएसम्म ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मतमा असफल भएमा अर्को सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
कांग्रेसको आजको बैठकले समर्थन फिर्ताको औपचारिक निर्णय गरे मधेस सरकार थप संकटमा पर्ने निश्चित देखिन्छ।