जनकपुरधाम । सशस्त्र प्रहरीले धनुषाको विदेह नगरपालिका–३, गोबराहीस्थित एक बाँसघारीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
शुक्रबार दिउँसो गोप्य सूचनाको आधारमा गरिएको छापामा ८३५ किलोग्राम गाँजा लुकाइएको अवस्थामा फेला परेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं.८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको नेतृत्वमा खटिएको टोलीले स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा उक्त गाँजा फेला पारेको हो। घटनापछि तस्कर भने फरार रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा यो सफल कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ। बरामद गरिएको गाँजाबारे थप अनुसन्धान भइरहेको र फरार तस्करको खोजीकार्य जारी रहेको बताइएको छ।