वीरगन्ज । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन्।
जेनजी आन्दोलनका क्रममा सुरक्षाको कारण देखाउँदै उनलाई भदौ २४ गतेदेखि नेपाली सेनाले ब्यारेकमा राखेको थियो।
एमाले निकट स्रोतका अनुसार, ओली अब भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बस्नेछन्। आन्दोलनकारीले बालकोटस्थित उनको निजी निवास जलाइदिएपछि अस्थायी बासस्थानको व्यवस्था गरिएको हो।
ओलीलाई गुण्डु सार्ने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन्। बस्नेतले ओलीलाई भव्य कार्यक्रमका साथ सार्वजनिक गरिने बताएका छन्।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ओली सैनिक ब्यारेकमा बस्दै आएका थिए। उनको बालकोट निवास आन्दोलनकारीको तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।