फाइल तस्बिर
वीरगन्ज । संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ गते (भोली) मनाइने संविधान दिवसलाई ‘कालो दिन’का रूपमा मनाउने निर्णय गरेको छ। २०७२ सालमा जारी गरिएको संविधान अधुरो र अपूर्ण रहेको भन्दै मोर्चाले शहीदहरूको सम्झनामा र संविधान पुनर्लेखनको माग गर्दै विरोध कार्यक्रम गर्ने जनाएको छ।
मोर्चाको केन्द्रीय सचिवालयको बैठकले जारी गरेको प्रेस विज्ञप्तिमा २०७२ साल असोज ३ गते ‘एकतर्फी रूपमा संविधान लादिएको’ आरोप लगाइएको छ। त्यस दिनदेखि नै प्रत्येक वर्ष विरोध प्रदर्शन गर्दै आएको मोर्चाले यस वर्ष पनि सामूहिक रूपमा कालोपट्टी बाँधी विरोधका कार्यक्रम गर्ने बताएको छ।
यसैगरी मोर्चाले भ्रष्टाचार र कुशासनविरुद्ध भएको ‘जेनजी’ युवा आन्दोलनप्रति समर्थन जनाएको छ। मोर्चाले अहिलेको सरकारले युवाहरूको भावनाअनुसार काम गर्नुपर्ने र देशको विविधता तथा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै राज्यको हरेक अंगमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
तर, मोर्चाले आन्दोलनको नाममा संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको अधिकार कमजोर बनाउने कुनै पनि षड्यन्त्र स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ।
बैठकले जेनजी आन्दोलनमा घुसपैठ गरी विभिन्न राजनीतिक दलका कार्यालय, सरकारी भवन, र व्यक्तिगत सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने अराजक तत्वहरूमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। विज्ञप्तिमा नेताहरू राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्र नाथ शुक्ला, शरतसिंह भण्डारी, निर्जला राउत, मो. लालबाबु राउत तथा व्यवसायीहरूको घर र व्यवसायमा भएको क्षतिप्रति चिन्ता व्यक्त गरिएको छ।
मोर्चाले क्षतिपूर्तिको यकिन गरी पीडितहरूलाई क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेको छ।
