वीरगन्ज । मनसुन बहिर्गमन हुनुपर्ने समय नजिकिँदै गर्दा देशभर, विशेषगरी तराई–मधेशका क्षेत्रमा, मनसुन सक्रिय बनेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अरब सागर र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ, जसले गर्दा वर्षाको सम्भावना बढेको छ।
मौसमविद्हरूका अनुसार, सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने भए पनि यसपटक यो लम्बिन सक्ने सम्भावना छ। अहिले लुम्बिनी प्रदेशसहित देशका अन्य भागमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी, लुम्बिनी प्रदेशको तराई भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।
यससँगै, तराई–मधेशका नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम पनि बढेको छ। बाढीविद् विनोद पराजुलीले पर्सा, बारा, चितवन, नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, बाँके, बर्दिया र दाङलगायतका जिल्लाहरूमा बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने चेतावनी दिएका छन्। उनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।