वीरग्न्ज । भदौ २४ गते नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनापछि संसद सचिवालयले सम्पत्ति फिर्ता गर्न आग्रह गरेको छ।
सचिवालयले एक सूचना जारी गर्दै तोडफोडको क्रममा अनधिकृत व्यक्तिले लगेका मालसामानहरू फिर्ता गर्न वा त्यसको जानकारी दिन अनुरोध गरेको छ।
संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले जारी गरेको सूचनाअनुसार, घटनाको निरीक्षण तथा प्राप्त जानकारीबाट टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइकलगायतका विद्युतीय उपकरणहरू चोरी भएको बुझिएको छ। यदि कसैले ती सामानहरू लगेको भए तत्काल फिर्ता गर्न वा ती सामान कहाँ छन् भन्ने जानकारी दिन आग्रह गरिएको छ।
यस घटनासँग सम्बन्धित कुनै भिडियो फुटेज भए पनि उपलब्ध गराई सहयोग गर्न सचिवालयले आह्वान गरेको छ। सूचना दिने व्यक्तिको परिचय पूर्ण रूपमा गोप्य राखिने आश्वासन पनि दिइएको छ।
थप जानकारीका लागि संसद सचिवालयका शाखा अधिकृत सुनिल सुवाल (०१–४२००१०२, ९८४११११८७६) र कम्प्युटर अपरेटर दिपेन्द्र विश्वकर्मा (०१–४२००१०२, ९८५५०६९१६३) लाई सम्पर्क गर्न सकिनेछ।
