वीरगन्ज । आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन तनावग्रस्त बनेको छ।
आइतबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा गुरुङ र पत्रकारहरूबीच भनाभन र धकेलाधकेल भएपछि माहोल बिग्रिएको हो।
गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विषयमा जानकारी दिने क्रममा सरकार ढाल्ने चेतावनी दिएपछि पत्रकारहरूले उनीमाथि प्रश्न गर्न सुरु गरेका थिए। प्रश्न सोध्ने क्रममा गुरुङ उत्तेजित बने र पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग गर्न थाले।
गुरुङको धम्कीपूर्ण व्यवहारपछि पत्रकारहरू पनि आक्रोशित बने र दुवै पक्षबीच भनाभन र धकेलाधकेल भयो। यस घटनाले पत्रकार सम्मेलनको माहोल पूर्ण रूपमा बिग्रियो।
यसअघि, गुरुङको समूहले जेनजी आन्दोलनको क्रममा सरकारविरुद्ध विभिन्न मागहरू राख्दै प्रदर्शन गर्दै आएको थियो। आजको पत्रकार सम्मेलनमा उनले आफ्ना मागहरू पूरा नभए वर्तमान सरकार पनि ढाल्न सक्ने चेतावनी दिएका थिए।