वीरगन्ज । राजधानीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा भएको आगजनीले न्याय प्रणालीमै गम्भीर धक्का लागेको छ।
प्रदर्शनकारीहरूले हिजो गरेको तोडफोड र आगजनीका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेका २५ हजार मुद्दाका सबै कागजात जलेर नष्ट भएका छन्।
अदालतका कर्मचारीहरूका अनुसार, यो क्षतिलाई आर्थिक मूल्यमा मापन गर्न सकिँदैन। ‘२५ हजार मुद्दाका फाइलहरूमध्ये एउटा पनि बाँकी छैन,’ एक कर्मचारीले दुखेसो पोख्दै भने। प्रदर्शनकारीहरूले कम्प्युटर, ल्यापटप, र सुरक्षाकर्मीका हतियारसमेत लुटेर लगेका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूको च्याम्बर पनि जलेको छ भने १०० भन्दा बढी गाडीहरू ध्वस्त पारिएका छन्।
आगजनी गर्ने समूहले सर्वोच्च अदालतका साथै काठमाडौं जिल्ला अदालत, बुटवल उच्च अदालत र दाङ इजलासलाई समेत निशाना बनाएको छ। यसबाट केही निश्चित मुद्दालाई प्रभावित पार्ने नियत देखिएको अनुमान गरिएको छ।
कागजातहरू नष्ट भएपछि सर्वोच्च प्रशासनले अर्को सूचना नआएसम्म इजलास बस्न नसक्ने जानकारी दिएको छ। यसले न्याय प्रक्रियामा ठूलो अवरोध सिर्जना गरेको छ।