ट्रेन्डिङ

काठमाडौं जेनजीको नियन्त्रणमा, राजधानीको आकाश धुवाँमय

वीरगन्ज । हिजो सुरु भएको जेनजी आन्दोलनले आज राजधानी काठमाडौंलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ।

पहिलो दिनको प्रदर्शनमा १९ जना प्रहरीको मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले सडकदेखि सरकारी भवनसम्म कब्जा गरेका छन्, जसले गर्दा राजधानीको आकाश धुवाँमय बनेको छ।

आन्दोलनकारीहरूको मुख्य निशाना देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार बनेको छ, जहाँ भवनहरूमा आगजनी भइरहेको छ। नयाँ बानेश्वरस्थित संसद भवन पूर्ण रूपमा जलेर ध्वस्त भएको छ भने राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटारभित्र पनि आगो लगाइएको छ। यसबाहेक, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र सरकारी वकिलको कार्यालयमा समेत आगजनी भएको छ, जसले राज्यका सम्पूर्ण अंगहरूमाथि आक्रमण भएको देखाउँछ।

राजनीतिक नेतृत्वका घरहरू पनि आन्दोलनबाट अछुतो रहेनन्। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको घरमा तोडफोड र आगजनी गरिएको छ। सबैभन्दा दुखद घटना देउवा दम्पतीमाथि भएको कुटपिट हो। पूर्वराष्ट्रपति भण्डारीको घरमा पनि आगजनी भएको छ।

आन्दोलनको यो उग्र रूपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू पूर्ण रूपमा असफल भएका छन्। अधिकांश स्थानमा प्रहरी निरीह बनेर आगजनी र तोडफोडलाई टुलुटुलु हेर्न बाध्य भएको देख्न सकिन्छ। हिजो अत्यधिक बल प्रयोग गरेकोमा आलोचित भएका सुरक्षाकर्मी आज आत्मसमर्पणको स्थितिमा छन्। काठमाडौंका सडकहरू प्रदर्शनकारीहरूको भीडले भरिएका छन् भने सुरक्षाकर्मीको उपस्थिति न्यून छ।

दैनिक जनजीवन ठप्प भएको छ र ठाउँठाउँमा भइरहेको आगजनीका कारण राजधानीको आकाश धुवाँले ढाकिएको छ। यस्तो अराजक अवस्थामा आन्दोलनमा संलग्न हुनेहरूमा अधिकांश जेनजी पुस्ताका युवायुवती देखिन्छन्, जसले यसलाई एक अभूतपूर्व र हिंस्रक विद्रोहको रूपमा चित्रित गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै