वीरगन्ज । जेनजी आन्दोलनको सफलतापछि त्यसका नेतृत्वकर्ताहरूले प्रदर्शनकारीहरूलाई शान्त र संयमित रहन अपिल गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई आफ्नो आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिँदै उनीहरूले अब थप हिंसा नगर्न र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अनुरोध गरेका छन्।
‘हाम्रो आन्दोलनको परिणाम स्वरूप सरकारले घुँडा टेकेको छ,’ अपिलमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट त्यसलाई स्वीकृत गरिएको छ। यो परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ।’
अपिलमा आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
जेनजी आन्दोलनका अगुवाहरूले अब देशको नेतृत्व युवा पुस्ताको हातमा आएको दाबी गरेका छन्। उनीहरूले सार्वजनिक सम्पत्तिलाई जोगाउनुपर्नेमा जोड दिँदै अबको बाटो ‘नागरिक सरकार’ गठन र नयाँ निर्वाचनमा जानु रहेको बताएका छन्।
उनीहरूले ‘सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन’ र ‘नयाँ निर्वाचन’ लाई आफ्नो न्यूनतम अडानको रूपमा प्रस्तुत गरेका छन्। यो अपिलले आन्दोलनलाई अबको चरणमा कसरी अगाडि बढाउने भन्नेबारे स्पष्ट मार्गनिर्देशन दिएको छ।