वीरगन्ज । प्रधानमन्त्रीको राजीनामापछि पनि देशभर जारी प्रदर्शनका बीच देशका उच्च सुरक्षा अधिकारीहरूले नागरिकलाई संयमित रहन आग्रह गरेका छन्।
आज साँझ नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृह सचिव गोकर्णमणी दवाडी, प्रहरी महानिरीक्षक बसन्त कुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त अपिल जारी गर्दै यो आग्रह गरेका हुन्।
उनीहरूले अपिलमा प्रदर्शनका क्रममा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यसबाट ज्यान गुमाउने व्यक्तिहरू र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले अब थप क्षति हुन नदिन सबै पक्षले संयम अपनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
वर्तमान विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो निकास निकाल्न पनि सबै सम्बन्धित पक्षहरूलाई आग्रह गरिएको छ। यो अपिलले सरकार र सुरक्षा निकाय आन्दोलनको हिंसात्मक अवस्थालाई शान्त पार्न प्रयासरत रहेको संकेत गर्छ।