वीरगन्ज। देशमा जारी जेनजी आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले सामूहिक राजीनामा दिएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।
राजीनामा दिने निर्णयपछि पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भने, ‘जेनजी पुस्ताको माग र अपेक्षामा पूर्ण समर्थन गर्दै हामी सबै प्रतिनिधिसभा सदस्यहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छौं।’
रास्वपाले आफूलाई जेनजी पुस्ताको आशा र आवाजको रूपमा प्रस्तुत गर्दै आएको थियो। अहिले देशव्यापी रूपमा फैलिएको आन्दोलनले हिंसात्मक रूप लिइरहेका बेला रास्वपाको यो निर्णयले नेपाली राजनीतिमा थप हलचल ल्याएको छ। यस घटनालाई राजनीतिक विश्लेषकहरूले ‘गेम चेन्जर’ को रूपमा हेरेका छन्, जसले नेपालको राजनीतिलाई नयाँ दिशा दिन सक्ने सम्भावना देखाएको छ।