कलैया । बढ्दो अशान्तिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय बाराले कलैया र जीतपुरसिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
आज दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने गरी यो आदेश जारी गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको सूचना अनुसार, कर्फ्युको समयमा तोकिएका क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन। सर्वसाधारणको आवतजावतमा पनि पूर्ण रूपमा रोक लगाइएको छ।
कर्फ्यु लागू हुने क्षेत्र :
पूर्व : पासाहा खोला
पश्चिम : गण्डक नहर
उत्तर : बडहर्वा चोक
दक्षिण : दुर्गा माध्यमिक विद्यालयसम्म
गण्डक नहरदेखि पथलैयासम्मको सडक खण्डको दायाँबायाँ २०० मिटरसम्म
तर, कर्फ्युको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरूलाई भने छुट दिइएको छ। यसअनुसार, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई सुरक्षाकर्मीले सहजै आवतजावत गर्न दिनेछन्। यस्तै, हवाई टिकटको आधारमा हवाई यात्रुहरूलाई पनि आवतजावतको सुविधा दिइएको छ।
