वीरगन्ज । जेनजी पुस्ताको स्वस्फूर्त आन्दोलनले देशभर हिंसात्मक मोड लिएको छ।
आन्दोलनको पहिलो दिन भएको दमन र १९ जनाको मृत्युपछि आक्रोशित प्रदर्शनकारीहरूले आज देशव्यापी रूपमा तोडफोड, आगजनी र आक्रमण गरेका छन्। यो मध्यान्ह १२ बजेसम्मको अवस्था हेर्दा, देशको सुरक्षा व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त भएको देखिन्छ।
प्रहरी र सशस्त्र प्रहरी बलले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसकेर धेरै ठाउँबाट पछि हटेका छन्। काठमाडौं उपत्यकासहित प्रमुख सहरका मुख्य सडकहरू आन्दोलनकारीको कब्जामा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवाससहित प्रमुख नेताहरूको घरमा आक्रमण र आगजनी भएका छन्। नेपाली कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यालयहरू पनि प्रदर्शनकारीको निशानामा परेका छन्।
प्रधानमन्त्री ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्, तर परिस्थितिको गम्भीरता हेर्दा त्यतिन्जेलसम्म अवस्था सरकारको नियन्त्रणबाट बाहिर गइसक्ने आकलन गरिएको छ। बौद्धिक समुदायले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिएर निकास दिन चेतावनी दिएका छन्, अन्यथा थप ठूलो क्षति हुने सम्भावना औंल्याएका छन्।
अहिले देशको सुरक्षा निकायले आन्दोलन धान्न नसक्ने अवस्थामा पुगेको छ। नेपाली सेनाले पनि आफूहरू छलफलमा रहेको बताएको छ, जसले सुरक्षा निकायको उच्च तहमा पनि अन्योल रहेको संकेत गर्छ। यस्तो संवेदनशील अवस्थामा शान्तिपूर्ण समाधानको उपाय खोज्न ढिलाइ भइरहेको देखिन्छ।