वीरगन्ज । जेनजी आन्दोलनको दोस्रो दिन पनि देशभरका युवाहरूले राजनीतिक नेतृत्वप्रति चर्को असन्तुष्टि पोख्दै प्रदर्शन जारी राखेका छन्।
मंगलबार प्रदर्शनकारीहरूले काठमाडौं उपत्यका र बाहिरका प्रमुख नेता तथा मन्त्रीहरूको घरलाई निशाना बनाएर ढुंगा प्रहार र आगजनी गरेका छन्।
प्रदर्शनकारीले ललितपुरको भैंसेपाटीस्थित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको निवासमा ढुंगा प्रहार गरे। यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा भने प्रदर्शनकारीले आगजनी नै गरेका छन्। यो घटनाले युवाहरूको आक्रोशले कस्तो हिंसात्मक रूप लिँदैछ भन्ने देखाउँछ।
हिजो गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि ढुंगा प्रहार भएको छ। यसैबीच, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्डु’को खुमलटारस्थित निवासमा पनि ढुंगा प्रहार भएको छ।
यसअघि, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा समेत प्रदर्शनकारी पुगेका छन् । एमाले नेता रघुविर महासेढ, कांग्रेस नेता एवम् कानून मन्त्री अजय कुमार चौरसियाको घरमा पनि तोडफोड भएको छ ।
देशभर फैलिएको यो प्रदर्शनले राजनीतिक नेतृत्वप्रति युवामा बढेको वितृष्णालाई उजागर गरेको छ। समाज र राष्ट्रले खोजेको परिवर्तनको दिशामा नेतृत्व असफल भएको भन्दै जेनजी पुस्ताले यसलाई ‘व्यवस्थाविरोधी’ आन्दोलनको रूप दिएको विश्लेषण गरिएको छ।