वीरगन्ज । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजीको आन्दोलनमा घुसपैठ भएको आशंकापछि प्रदर्शनकारीहरूलाई घर फर्कन आह्वान गरिएको छ।
जेनजी नेपाल नामक फेसबुक पेजले एक जरुरी सूचना जारी गर्दै सबै प्रदर्शनकारीलाई तत्कालै सुरक्षित रूपमा घर फर्कन आग्रह गरेको हो।
जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।
जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ ।
प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।
संसद भवनअगाडिको प्रदर्शन तनावपूर्ण बनेपछि यो आह्वान गरिएको हो। उक्त फेसबुक पेजमा लेखिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाइरहेका छन्। चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्। हाम्रो आजको दिन सफल भइसकेको छ। आज सबै जना सुरक्षित तरिकाले घर जानुस्।
आन्दोलनको यस महत्वपूर्ण मोडमा, जेन(जी समूह आफैँले प्रदर्शनलाई शान्त बनाउन खोजेको देखिन्छ। यसअघि नै नेतृत्वविहीन भनिएको यो आन्दोलनमा केही समूहले घुसपैठ गरी हिंसा भड्काउन खोजेको आशंका गरिएको छ। प्रदर्शनकारीहरू संसद भवनभित्र प्रवेश गरेपछि र प्रहरीसँग झडप भएपछि यो अवस्था आएको हो।
युवाहरूको यो कदमले आन्दोलनको रणनीति र भविष्यमा यसको दिशाबारे नयाँ प्रश्नहरू खडा गरेको छ। के यो आन्दोलन अब शान्तिपूर्ण तरिकाले अगाडि बढ्छ वा यसको स्वरूप परिवर्तन हुनेछरु यो त आउने दिनहरूमा नै थाहा हुनेछ।