वीरगन्ज । नेपाल सरकारले फेसबुक लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ता (२८ वर्षमुनिका)ले आन्दोलनको घोषणा गरेका छन्।
भोलि भदौ २४ गते माइतीघरमा भेला भएर बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम तय भएको छ।
आज माइतीघरमा बसेको जेनजीका युवाहरूको बैठकले आन्दोलनको कार्यतालिका तयार पारेको छ। भोलि बिहान ९ बजे युवाहरू माइतीघरमा भेला हुनेछन् र त्यहाँबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्नेछन्। यस आन्दोलनको मुख्य विशेषता भनेको कुनै पनि नेता वा व्यक्तिले सम्बोधन गर्ने छैनन्। प्रदर्शनमा केन्द्रित गीत र कविताहरू मात्र वाचन गरिनेछ, तर ती सिर्जनाकारहरू २८ वर्षभन्दा कम उमेरका हुनुपर्नेछ। यसले आन्दोलनलाई विशुद्ध युवाहरूको आवाजको रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ।
जेनजीले सरकारसँग तीन प्रमुख मागहरू राखेका छन् । सामाजिक सञ्जाल पुनः सक्रिय गर्नुपर्ने, पुराना नेताहरूले प्रधानमन्त्री पदमा नबस्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष र योग्य आयुक्तहरूको नियुक्ति गर्नुपर्ने तीन बुँदे माग अघि सारेका छन् ।
यस आन्दोलनलाई विभिन्न राजनीतिक दलका नेताहरू र सेलिब्रिटीहरूले पनि ऐक्यबद्धता जनाएका छन्। यसले युवाहरूको मागलाई बलियो समर्थन दिएको छ।