ट्रेन्डिङ

सामाजिक सञ्जाल बन्द हुँदा संसद्को लाइभ रोकियो, वैकल्पिक उपाय खोज्न निर्देशन

वीरगन्ज । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि अब संसद्को प्रत्यक्ष प्रसारण पनि रोकिने भएको छ।

सरकारले बिहीबार दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको थियो। यो निर्णयको प्रत्यक्ष प्रभाव संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा परेको छ। संसद् सचिवालयका अनुसार, हालसम्म दुवै सदनको बैठकको प्रत्यक्ष प्रसारण यूट्यूब जस्ता सामाजिक सञ्जालमार्फत हुँदै आएको थियो।

यस विषयमा चासो राख्दै सभामुख देवराज घिमिरेले संसद्को लाइभ प्रसारण र भिडियो अभिलेखको सुरक्षाबारे तुरुन्तै ध्यान दिएका छन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, सभामुखले संसद् सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमहरूको व्यवस्थापनका लागि निर्देशन दिइसकेका छन्। यसको मुख्य उद्देश्य सरकारको निर्णयका बाबजुद संसदीय गतिविधि जनतासामु पुर्याउनु हो।

यो निर्णयले आगामी दिनमा संसद्को बैठक कसरी प्रत्यक्ष प्रसारण हुनेछ भन्ने प्रश्न उठेको छ। प्रतिनिधिसभाको बैठक २५ भदौ र राष्ट्रिय सभाको बैठक २३ भदौमा बस्दैछ। यसअघि सांसदहरूले बोलेका महत्त्वपूर्ण भिडियोहरू पनि युट्युबमा अपलोड हुने गरेका थिए। अब यो प्रक्रिया पनि प्रभावित हुने सम्भावना देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै