ट्रेन्डिङ

भूमि ऐनले मधेशलाई मरुभूमि बनाउँदैछ : संघीय लोकतान्त्रिक मोर्चा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले तराईको उर्वर भूमिमाथि ‘आन्तरिक उपनिवेश’ लादेर त्यसलाई मरुभूमि बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

संघीय लोकतान्त्रिक मोर्चाले राजविराजमा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्।

यादवले भूमि विधेयकलाई शासक वर्गको पाँचौँ चरणको षड्यन्त्रको रूपमा व्याख्या गरे। उनले भने, ‘पहिलो चरणमा शासकहरूले तराईको भूमिलाई बक्सिस, बिर्ता र जागिरको रूपमा वितरण गरे। दोस्रो चरणमा हदबन्दीको नाममा खोसे। तेस्रोमा पुनर्वास कम्पनीको नाममा विदेशीहरूलाई वन विनाश गरेर बाँडे। चौथोमा कानुन बनाएर सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा दिए। र, अहिले पाँचौँ चरणमा भूमि ऐन ल्याएर मधेशलाई मरुभूमि बनाउन खोज्दैछन्।’

नेता यादवले मधेश र मधेशी जनतामाथि निरन्तर शासन कायम राखिएको र अब सबै मिलेर आफ्नो हक र अधिकारका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए। उनले समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरिनुपर्ने माग पनि दोहोर्याए।

अभियानलाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेशीहरूलाई संघर्ष गर्न बाध्य पारिएको र ‘भूमि ऐन’ मधेशलाई मरुभूमि बनाउने षड्यन्त्र भएको बताए। उनले ‘कि त लडेर अधिकार लिने कि सकिने’ दुई विकल्प मात्र रहेको भन्दै आक्रोश व्यक्त गरे।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाका नेताहरू आफैँ जाग्नुपर्ने बताए। उनले भूमि विधेयक पारित हुँदा मोर्चाका दलहरूको भूमिका प्रस्ट हुनुपर्नेमा जोड दिए। महतोले आदिवासी जनजातिसहित सबै उत्पीडित समुदाय एक नभएसम्म अधिकार प्राप्त नहुने भनाइ राखे।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भूमि विधेयक भूमिहीनका लागि नभई भूमाफियाका लागि ल्याइएको र राज्यसत्तालाई मधेश चाहिने तर मधेशी नचाहिने बताए।

यो अभियान अब देशका अन्य भागमा पनि सञ्चालन गरिने र अर्को कार्यक्रम भदौ २० गते जनकपुरधाममा हुने राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले जनाएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै