ट्रेन्डिङ

सूचना नदिँदा पर्साको धोबनी गाउँपालिका अध्यक्ष कार्यकक्षमा थुनिए

वीरगन्ज । गत आर्थिक वर्षको विकास खर्च विवरण माग गर्दा नदिएको भन्दै स्थानीयहरूले सोमबार पर्साको धोबनी गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।

दिउँसो साढे एघार बजेबाट गरिएको तालाबन्दीका कारण गाउँपालिका अध्यक्ष मदन चौहानसहित कर्मचारीहरू कार्यालयभित्रै थुनिएका छन्।

स्थानीय सुनिल साह लगायतले सूचनाको हक प्रयोग गरी गाउँपालिकाले विकास निर्माणमा गरेको खर्चको प्रमाणित विवरण माग गरेका थिए। तर, कार्यालयले माग गरिएको सबै विवरण उपलब्ध नगराएपछि बाध्य भएर तालाबन्दी गरिएको आन्दोलनकारी साहेब पटेलले बताए । स्थानीयहरूले गत आर्थिक वर्षमा व्यापक अनियमितता भएको आरोपसमेत लगाएका छन्।

यता, गाउँपालिका अध्यक्ष चौहानले भने यो तालाबन्दीलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिएका छन्। उनले माग गरिएको सूचना उपलब्ध गराइएको दाबी गर्दै केही कमी भए छलफलबाट समाधान गर्न सकिने अवस्था हुँदाहुँदै वार्तामा नआई होहल्ला गरिएको बताए । उनले सुरक्षाका लागि इलाका प्रहरी कार्यालय पोखरियाबाट सुरक्षाकर्मीहरूको टोली खटिएको र आफूहरू कार्यालयभित्र सुरक्षित रहेको जानकारी दिए ।

कार्यालय बाहिर स्थानीयले प्रदर्शन गर्दै अनियमितताको छानबिनको माग गरिरहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै