वीरगन्ज । विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूको विरोध गर्दै निजी विद्यालयका सञ्चालकहरूले आज काठमाडौँको चक्रपथमा स्कुल बसको र्याली निकालेका छन्।
उनीहरूले विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने जस्ता शब्दहरू हटाउन माग गर्दै प्रदर्शन गरेका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पारित भई संसदमा विचाराधीन रहेको यस विधेयकले निजी विद्यालयहरूको सञ्चालनमा नकारात्मक असर पर्ने भन्दै उनीहरूले लामो समयदेखि विरोध गर्दै आएका छन्। यसै क्रममा निजी विद्यालय सञ्चालकहरूको छाता संगठनहरू प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए ले संयुक्त रूपमा यो विरोध कार्यक्रम आयोजना गरेका हुन्।
चक्रपथको एक लेनमा सयौँको संख्यामा पहेँला स्कुल बसहरू लस्कर लागेर र्यालीमा सहभागी भएका थिए। यो प्रदर्शनका कारण केही ठाउँमा सवारी आवागमन प्रभावित भएको थियो।
निजी विद्यालय सञ्चालकहरूले आफूहरूलाई सरकारी नियमनले दबाउन खोजेको आरोप लगाउँदै आएका छन्। उनीहरूले शिक्षामा निजी क्षेत्रको योगदानलाई बेवास्ता गरिएको र यसले लगानी हतोत्साहित हुने दाबी गरेका छन्। उनीहरूले आफूहरूको मागलाई सम्बोधन नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन्।
यसअघि पनि निजी विद्यालयका सञ्चालकहरूले विभिन्न माध्यमबाट विधेयकका प्रावधान सच्याउन सरकारलाई दबाब दिँदै आएका थिए।