वीरगन्ज । ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पर्सा अदालतमै सहलेखापालको रूपमा हाजिर भएका छन्।
पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ का ३० वर्षीय अनिलकुमार कुशवाहा गत वैशाख ११ गते ज्यान मार्ने उद्योग मुद्दामा ७० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए। उनी भदौ ११ गते कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापबाट सरुवा भएर सोही मुद्दाको सुनुवाइ हुने पर्सा जिल्ला अदालतको लेखा शाखामा सहलेखापालका रूपमा हाजिर भएका हुन्।
गत वैशाख ९ गते हृदयनारायण महतोले दिएको जाहेरीका आधारमा कुशवाहासहित ९ जनामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो। घटनापछि फरार रहेका कुशवाहापछि अदालतमा उपस्थित भई धरौटीमा छुटेका थिए।
यस्तो संवेदनशील अवस्थामा एउटा न्यायिक निकायमै मुद्दाका अभियुक्तलाई काममा फर्काउँदा अनुसन्धान र सुनुवाइको निष्पक्षतामाथि प्रश्न उठ्ने भन्दै कर्मचारी र कानुन व्यवसायीहरूले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। कानुनविद्हरूका अनुसार, धरौटीमा छुट्नुको अर्थ व्यक्ति दोषी नहुनु होइन, केवल थुनामुक्त हुनु मात्र हो।
यद्यपि, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले भने कुशवाहाले लेखा शाखामा मात्र काम गर्ने भएकाले न्यायिक निर्णय प्रक्रियामा कुनै प्रभाव पार्न नसक्ने र यसले अदालतको निष्पक्षतामा कुनै फरक नपर्ने दाबी गरेका छन्।