कलैया । नेपाल शिक्षक महासंघले आफ्नो केन्द्रीय आन्दोलनअन्तर्गत शुक्रबार देशभरका पालिकामा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ।
यसै क्रममा बारा जिल्लाका १६ वटै पालिकामा शिक्षकहरूले एकसाथ धर्ना दिएका छन्।
कलैया नगरपालिकाको कार्यालय अगाडि भएको धर्ना कार्यक्रममा सहभागी शिक्षकहरूले २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेको ९ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले विद्यालय शिक्षा विधेयकमा पनि सहमतिका बुँदाहरू समेटिएकोमा आपत्ति जनाएका छन्।
धर्ना कार्यक्रमपछि शिक्षकहरूले सम्बन्धित पालिकाका प्रमुख कार्यकारी अधिकृतमार्फत सरकारलाई सम्बोधन गरी ज्ञापनपत्र बुझाएका छन्। महासंघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।
उनीहरूका मुख्य मागहरूमध्ये अस्थायी शिक्षकको पदपूर्ति, स्थायी शिक्षकको आवधिक बढुवा, अस्थायी अवधिको गणना, विद्यालय कर्मचारी र बालकक्षा शिक्षकको सेवा(सुविधा सुनिश्चितता, तथा शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधानको विरोध प्रमुख छन्।