वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज नारायणी अस्पतालमा हैजा संक्रमित विरामीहरुसंग भेटघाट गरेका छन् ।
पूर्वस्वास्थ्य मन्त्री एवम् कांग्रेस महामन्त्री थापाले आज विहान नारायणी अस्पतालमा हैजा संक्रमति विरामी तथा अस्पतालको अनुगमन गरेका हुन । हैजा संक्रमितहरु नारायणी अस्पतालमा बढी उपचाररत रहेकोले महामन्त्री थापाले विरामीहरुसंग भेटघाट गरेको जनाइएको छ ।
भेटघाटका क्रममा महामन्त्री थापाले विरामीहरुलाई सरकारले सबै सहयोग गर्ने ढाड्स दिएका छन् । अस्पतालको इमरजेन्सी वार्डमा उपचाररत विरामीहरुसंग भेटघाट गर्दै सरकारले तत्काल राहत प्याकेज घोषणा गर्न जरुरी रहेको औल्याएका छन् ।
यो साथै स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर हैजाको भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएको अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले बताए । उनका अनुसार अस्पतालमा ५ सय श्ययामा स्तरोन्ती गर्नका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
मधेस झरेका कांग्रेस महामन्त्री थापाले वीरगन्ज हैजा रोगको चपेटामा परेकाले सर्वसाधारणको अवस्थाबारे जानकारी लिन नारायणी अस्पताल आइपुगेका हुन । पर्सामा जिल्लामा शुक्रबारसम्म १५२ जनामा हैजा संक्रमणको पुष्टि भएको छ ।