जनकपुर । मधेस प्रदेश सभाको आज सदनको बैठक छ । प्रदेश सभाको भवनमा दिउँसो १ बजेदेखि सदनको बैठक बस्ने कार्यसूचि छ ।
बिहीबारदेखि प्रदेश सभाको छैठों अधिवेशनको पहिलो सदनको बैठक सुरु भएको थियो ।
बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलहरुले अर्थमन्त्री सुनिल यादवको राजीनामाको माग गर्दै विरोध जनाउन थालेपछि सदनको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि सभामुख रामचन्द्र मण्डलले स्थगन गरेका थिए ।
सदन चल्न नसक्ने अवस्था सृजना भएपछि सभामुख मण्डलले सदनको बैठक स्थगन गरिएको सूचना सुनाएका थिए । चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्री यादवले २९४ पेजको योजना लुकाएर पारित गराएको भन्दै प्रतिपक्षी दलहरुले अर्थमन्त्रीको राजीनामाको एजेन्डा अघि सारेका छन् ।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले सदनको बैठकमा अर्थमन्त्रीको राजीनामा नआउँदासम्म सदन चल्न नदिने जिकिर गरेका छन् ।