वीरगन्ज । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा विद्यमान दलाल पुँजीवादको कब्जाबाट मुक्त भई जनतामा देखिएको निराशा चिर्नका लागि ‘घुस नखाने’ कम्युनिस्ट पार्टी आवश्यक भएको बताएका छन् ।
बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक संकटको निकासका लागि अब सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबीच ध्रुवीकरण अपरिहार्य रहेको उल्लेख गरे ।
भुसालले नेपालमा व्यवस्था र संविधान बदलिए पनि राजनीतिक दलहरूको ढाँचा र कार्यशैलीमा कुनै परिवर्तन नआएकोमा चिन्ता व्यक्त गरे । उनले राजाको पालादेखि नै दलहरू दलाल पुँजीवादको प्रभावमा फसेको आरोप लगाए ।
‘समाज बौलाएको छ,’ भुसालले भने, ‘अब यसबाट निकास दिन ध्रुवीकरण जरुरी छ।’ उनले मुलुक अहिले नयाँ इतिहास बनाउने ‘प्रसव पीडा’मा रहेको र वामपन्थी आन्दोलनलाई केन्द्रदेखि वडासम्म ध्रुवीकरण गर्ने बेला आएको बताए ।
भुसालले हालै नेकपाका महासचिव विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँगको बहसको प्रसंगमा आफूहरू नयाँ पार्टी बनाउनका लागि नभई सही सिद्धान्तमा आधारित भएर कम्युनिस्ट आन्दोलनलाई एकजुट गराउने अभियानमा रहेको स्पष्ट पारे ।
उनले ‘हामी तीन जनाले मात्रै गर्नुपर्छ भन्ने रहेन, कम्युनिस्ट आन्दोलनमा चिन्तितहरूले माथिदेखि वार्डसम्म बहस गरौं’ भन्दै व्यापक छलफलको आवश्यकता औंल्याए । उनले देउवा, ओली, प्रचण्ड र माधव नेपालजस्ता पुराना नेताहरूसँगै रवि लामिछानेप्रति समेत जनतामा असन्तुष्टि रहेको भन्दै अब नयाँ निकासको खोजीमा लाग्नुपर्नेमा जोड दिए ।