ट्रेन्डिङ

उखु किसानको आन्दोलनमा प्रतिपक्षी शीर्ष नेताको ऐक्यबद्धता

वीरगन्ज । उखु किसानहरूले अनुदान रकम कटौतीको विरोधमा माइतीघर मण्डलामा जारी राखेको आन्दोलनलाई प्रमुख प्रतिपक्षी राजनीतिक दलका शीर्ष नेताहरूले ऐक्यबद्धता जनाएका छन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ किसानहरूको समर्थनमा धर्नामा बसेका छन्।

सरकारले बजेट अभावको कारण देखाउँदै उखुमा दिँदै आएको प्रति क्विन्टल ७० रुपैयाँ अनुदानलाई घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरू आन्दोलित भएका हुन्। उनीहरूले आइतबारदेखि निरन्तर काठमाडौँमा प्रदर्शन गरिरहेका छन्। सोमबार उखुको बोट नै बोकेर आएका किसानहरूले सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्।

किसानहरूको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगेका माधवकुमार नेपाल उनीहरूसँगै धर्नामा बसेका थिए। यसअघि नै, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि आन्दोलन स्थलमा पुगेर किसानका मागप्रति ऐक्यबद्धता जनाएका थिए।

यस क्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानका मागहरू पूर्णरूपमा जायज भएको बताउँदै सरकारले तत्काल ती मागहरू पूरा गर्नुपर्ने बताए। उनले किसानका मागमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट पारे।

उखु उत्पादक महासंघको नेतृत्वमा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका किसानहरू प्रदर्शनमा सहभागी छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै