वीरगन्ज । आसन्न उपनिर्वाचनको सरगर्मी बढिरहेका बेला डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही– ३ मा आफ्नो स्थिति बलियो बनाउन महत्त्वपूर्ण कदम चालेको छ।
पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट अघिल्लो चुनावमा उठेका धनिराम चौधरीलाई आफ्नो पार्टीमा भित्र्याएको छ।
आइतबार पार्टी अध्यक्ष डा. राउतले चौधरीलाई जनमतमा स्वागत गरे। चौधरीलाई रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बनाउने तयारीका साथ पार्टी प्रवेश गराइएको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।
गत निर्वाचनमा चौधरी नाउपाबाट रुपन्देही–१ का उम्मेदवार थिए। त्यतिबेला उनले १३ हजार ९६२ मत ल्याएर चौथो स्थानमा रहेका थिए।
यसअघि संघीय लोकतान्त्रिक मोर्चाले नाउपाका संरक्षक रेशम चौधरीले उठाएका उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो। तर, जनमत पार्टीले भने नाउपालाई सघाउन नसक्ने घोषणा गरिसकेको छ।
जनमतले धनिराम चौधरीलाई उम्मेदवार बनाएर उपनिर्वाचनमा आफ्नो पक्षमा थारु समुदायको मत आकर्षित गर्ने रणनीति लिएको देखिन्छ। नाउपाभित्रको आन्तरिक विवादका कारण उक्त दल उपनिर्वाचनका लागि दर्ता हुन सकेको छैन। यसैको फाइदा उठाउँदै जनमतले आफ्नो राजनीतिक आधार फराकिलो बनाउन खोजेको देखिएको छ ।