वीरगन्ज । वीरगन्जमा हैजा र झाडापखालाको प्रकोप बढ्दै गएपछि त्यसको नियन्त्रण र बिरामीको उपचारका लागि मधेश प्रदेश सरकारले नारायणी अस्पताललाई आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुघ्न प्रसाद सिंहको पहलमा उक्त सामग्री हस्तान्तरण गरिएको हो।
आइतबार मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई १७ प्रकारका औषधि र अन्य आवश्यक सामग्री हस्तान्तरण गरेका छन्।
यसैबीच, नारायणी अस्पतालले एक सूचना जारी गर्दै अस्पतालमा कार्यरत सबै चिकित्सक र स्वास्थ्यकर्मीहरूको बिदा रद्द गरेको छ। सूचनामा, हैजा महामारीको प्रकोप फैलिएकाले बिदामा रहेका कर्मचारीहरूलाई तत्काल हाजिर हुन समेत निर्देशन दिइएको छ।
मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले महामारी नियन्त्रणका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। उनले बिरामीको उपचारका लागि थप औषधि र सामग्री उपलब्ध गराउन तयार रहेको पनि जानकारी दिए।
स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले वीरगन्जमा बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको र स्थानीय तहसँग समन्वय गरेर नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको बताए।
यसअघि, वीरगन्ज महानगरपालिकाको क्षेत्रमा झाडापखाला (हैजा) को प्रकोप फैलिएको भन्दै नारायणी अस्पतालले सूचना जारी गरेको थियो। अस्पतालको सूचना अनुसार हैजाको उपचारका लागि सबै तयारी गरिएको र यसका लागि आवश्यक सामग्री र औषधिको व्यवस्था गरिएको जनाएको छ।