वीरगन्ज । चीनका विदेशमन्त्री वाङ यीले हालै भारतसँग भएको समझदारी कुनै तेस्रो देशलाई लक्षित गरेर नभएको स्पष्ट पारेका छन्।
भारत र अमेरिकाबीच चलिरहेको व्यापारिक तनाव तथा नेपालको लिपुलेकको विषयमा भएको विवादका माझ चिनियाँ विदेशमन्त्रीको यो भनाइलाई अर्थपूर्ण रूपमा लिइएको छ।
पाकिस्तान भ्रमणमा रहेका विदेशमन्त्री वाङले इस्लामावादमा आफ्ना पाकिस्तानी समकक्षी इसहाक डारसँग भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यो कुरा बताएका हुन्। उनले चीन र भारतबीचको नयाँ समझदारीले यस क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
वाङको यो टिप्पणी चीन, भारत र अमेरिकाबीचको भूराजनीतिक समीकरणमा आएको एउटा महत्वपूर्ण मोड मान्न सकिन्छ। एकातिर, भारत र अमेरिकाबीच व्यापार र सुरक्षा साझेदारीमा लगातार वृद्धि भइरहेको छ, भने अर्कोतिर, चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ को विरोधमा भारत र अमेरिकाले मिलेर काम गरिरहेका छन्।
यसका साथै, नेपालको लिपुलेकलाई लिएर भारत र चीनबीच भएको समझदारीको नेपालमा चर्को विरोध भइरहेको सन्दर्भमा वाङको यो भनाइले नेपालको चिन्तालाई सम्बोधन गर्ने प्रयासका रूपमा पनि हेर्न सकिन्छ। तर, यसले नेपालको सार्वभौमिकताको विषयमा भने कुनै ठोस जवाफ दिएको छैन।