ट्रेन्डिङ

रेशम चौधरीले उठाउने स्वतन्त्र उम्मेदवारलाई मोर्चाको साथ

वीरगन्ज । निर्वाचन आयोगले दल दर्ताका लागि मान्यता नदिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले रुपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्। यसका लागि उनलाई यसअघि पनि साथ दिँदै आएको संघीय लोकतान्त्रिक मोर्चाले सहयोग गर्ने भएको छ।

बुधबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको मोर्चाको बैठकले नाउपाका संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चित गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनका लागि संघीय लोकतान्त्रिक मोर्चाले साविककै निर्णयप्रति पुनः प्रतिबद्धता जनाउँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार निश्चय गर्ने जिम्मेवारी दिइएको छ।’

आन्तरिक विवादका कारण नाउपालाई निर्वाचन आयोगले उपनिर्वाचनका लागि दलको रूपमा मान्यता दिन अयोग्य ठहर गरेको छ। आयोगका अनुसार, नाउपाको दुवै पक्ष, रेशम चौधरी पक्ष र रञ्जिता श्रेष्ठ पक्ष, ले दल दर्ताका लागि आवश्यक कागजात र प्रक्रिया पूरा गर्न सकेनन्।

रेशम चौधरी पक्षले साउन १४ गते गरेको राष्ट्रिय भेलालाई आयोगले अवैध ठहर गर्‍यो, जसले गर्दा लालवीर चौधरीको नेतृत्वलाई मान्यता दिएन। यस्तै, रञ्जिता श्रेष्ठले पनि केन्द्रीय समितिको अनुमोदन र वार्षिक लेखापरीक्षण प्रतिवेदनसहितका आवश्यक कागजात पेस गर्न नसकेकाले आयोगले उनको निवेदन पनि खारेज गर्‍यो। दुई पक्षको विवाद र कागजात अभावकै कारण अब नाउपाले आसन्न उपनिर्वाचनमा भाग लिन पाउने छैन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै