वीरगन्ज । नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको छ ।
हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुलाई मंगलबार वीरगन्ज महानगरपालिकाले औपचारिक रुपले सम्मानित गरेको हो ।
नगरप्रमुख राजेशमान सिंहको कार्यकक्षमा आयोजित कार्यक्रममा नयाँ नेतृत्वलाई सम्मान गर्दै आगामी कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरियो ।
सो अवसरमा अध्यक्ष प्रियान्सु कुमार गुप्ता, उपाध्यक्ष श्याम किशोर दास, सचिव मनिष केशरीसहित कार्यसमितिका अन्य इञ्जिनियरहरूको सहभागीता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले इञ्जिनियरहरूको पेशागत दक्षता र इमान्दारिता देशको विकासका लागि अनिवार्य रहेको भन्दै नयाँ नेतृत्वले अझ सक्रिय भूमिका निर्वाह गर्ने विश्वास जनाए । उनले भने, ‘इञ्जिनियरहरू विकासको मेरुदण्ड हुन् । तपाईँहरूको योजनाबद्ध काम र इमानदार प्रयासले मात्र शहर र देशको विकास सम्भव हुन्छ । त्यसका लागि महानगरले सधैं सहयोग गर्नेछ।’
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पनि नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै व्यावसायिक मर्यादा कायम राख्दै महानगर र समुदायसँग सहकार्यमा काम गर्न आग्रह गरे । नयाँ नेतृत्वले इञ्जिनियरहरूको हकहितसँगै समाज विकासमा ठोस योगदान पुर्याउने अपेक्षा उनको छ ।
नवनिर्वाचित अध्यक्ष प्रियान्सु कुमार गुप्ताले महानगरले देखाएको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै इञ्जिनियरिङ क्षेत्रको उन्नति र पेशागत मर्यादा कायम राख्न सबैलाई साथ दिन आग्रह गरे । उनले आगामी दिनमा युवा इञ्जिनियरहरूको क्षमता विकास, तालिम र प्राविधिक क्षेत्रमा नवीनता ल्याउन आफू प्रतिबद्ध रहने पनि बताए ।
उपाध्यक्ष श्याम किशोर दास र सचिव मनिष केशरीले आफ्नो कार्यकालमा संस्थालाई बलियो बनाउन र सदस्यहरूबीच एकता कायम राख्न प्राथमिकता दिने बताए ।
कार्यक्रममा उपस्थित अन्य पदाधिकारी तथा इञ्जिनियरहरूले पनि आ-आफ्ना धारणा राख्दै महानगरसँग सहकार्य गरेर वीरगन्जलाई आधुनिक, व्यवस्थित र प्राविधिक दृष्टिले सम्पन्न शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।