ट्रेन्डिङ

जनमत पार्टीद्वारा किसानका लागि सुरक्षा र राहतको माग, आन्दोलनको चेतावनी

वीरगन्ज । जनमत पार्टीले कृषि कार्यमा संलग्न किसानको सुरक्षाका लागि नेपाल विद्युत प्राधिकरणसँग पाँचबुँदे माग अघि सारेको छ।

पार्टीले आफ्ना मागहरू पूरा नभए आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। पछिल्लो पाँच वर्षमा मधेश प्रदेशमा मात्रै करेन्ट लागेर ४४९ जना किसानको मृत्यु भएको प्रहरीको तथ्याङ्कले यो समस्याको गम्भीरता दर्शाउँछ भन्दै पार्टीले तत्काल कदम चाल्न आग्रह गरेको छ।

पार्टीले कृषि विद्युतीकरणका लागि मापदण्ड नबनाइएको र खेतखेतमा बिना मापदण्ड राखिएका पोल तथा तारले गर्दा दुर्घटना बढेको आरोप लगाएको छ। किसानले जोखिमपूर्ण ढंगले ‘लूज हुकिङ’ गर्नुपर्ने बाध्यतालाई प्रमुख कारणका रूपमा औंल्याउँदै जनमत पार्टीले प्राधिकरणसँग प्रत्येक पोलमा डिस्ट्रिब्युसन बक्सको व्यवस्था गर्न माग गरेको छ।

ज्ञापनपत्रमा विद्युत दुर्घटनामा घाइते हुने र ज्यान गुमाउने किसानका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, किसानको सुरक्षाका लागि विद्युतीय कृषि बिमा लागू गर्नुपर्ने र कृषि मिटर तथा बिल पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने माग पनि राखिएको छ। जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले हस्ताक्षर गरेको यो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय लगायतका सम्बन्धित निकायहरूलाई पठाइएको छ।

यदि यी मागहरूको तत्काल सम्बोधन नभए पार्टी कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै