ट्रेन्डिङ

पत्रकार महासंघको जग्गा विवादमा मेयर साहको अडान, भने – ‘वकिलहरूको अन्याय स्वीकार्य छैन’

जनकपुरधाम । नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले लिजमा लिएको जग्गामाथि नेपाल बार एसोसिएसन, जनकपुरले दाबी गरेको विषयमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले कडा आपत्ति जनाएका छन्।

मेयर साहले पत्रकार महासंघको जग्गामाथि बार एसोसिएसनको दाबी ‘अनुचित’ र ‘अन्यायपूर्ण’ भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ, मधेश प्रदेशको टोलीसँगको भेटमा मेयर साहले यो जग्गा पत्रकार महासंघले सबै कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको जानकारी पाएको उल्लेख गरे। बार एसोसिएसनसँग आफ्नै भवन हुँदाहुँदै अर्को संस्थाले प्राप्त गरेको जग्गामाथि अवरोध सिर्जना गर्नु कुनै पनि दृष्टिकोणबाट न्यायसंगत नभएको उनको भनाइ छ।

मेयर साहले बार एसोसिएसनले आफूले जग्गामा माटो भरेको दाबी गर्नु सरासर झुट भएको बताएका छन्। उनका अनुसार, उक्त जग्गामा यसअघि गंगासागरस्थित रामनारायण मिश्र स्मारक समितिको भवन निर्माण हुँदा सम्बन्धित निर्माण व्यवसायीले माटो भण्डारण मात्रै गरेका थिए।

मेयर साहले यस्ता घटनाक्रमले नागरिक समाजमा ‘विद्वान अधिवक्ताहरूको छविमा नकारात्मक प्रभाव परेको’ र ‘न्याय सम्पादन गर्ने व्यक्तिहरूप्रति नै प्रश्नचिन्ह खडा भएको’ बताएका छन्। उनले दुवै पक्षलाई वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दै दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

उक्त भेटमा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, सचिव हदीस खुदार, सदस्यहरू नवीन मिश्र, नवीन सिंह, प्रतिभा झा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साह, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, प्रेस चौतारीका केन्द्रीय सदस्य इन्दिप कोइराला, प्रेस युनियनका केन्द्रीय सचिव अजित तिवारी लगायतका पत्रकारहरूको सहभागिता थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै