वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकताको घोषणा भएको छ।
दुवै पार्टीका अध्यक्षले एक सहमतिपत्रमा हस्ताक्षर गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र मुलुकलाई समाजवादको नेपाली बाटोमा अगाडि बढाउने साझा लक्ष्य तय गरेका छन्। जसपाका अध्यक्ष अशोक कुमार राई र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेको यो सहमतिले मधेश र अन्य सीमान्तकृत समुदायका मुद्दालाई पुनः सशक्त बनाउने प्रयास गरेको छ।

यो एकताको मुख्य उद्देश्य संविधान संशोधनमा दबाब सिर्जना गर्नु हो। उनीहरूले वर्तमान संविधानलाई ‘अधूरो र विभेदकारी’ भन्दै सबै समुदायको पहिचान र अधिकार सुनिश्चित हुने गरी यसमा संशोधन हुनुपर्ने माग गरेका छन्। यसका साथै, दुवै पार्टीले सङ्घमा राष्ट्रपति, प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहमा कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्थाका लागि पनि आवाज उठाउने भएका छन्।

राज्यका सबै अंगहरूमा पिछडिएका वर्ग, जाति, क्षेत्र र लिङ्गको जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी व्यवस्थाको माग पनि उनीहरूको साझा एजेन्डा हो। यस एकताले मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, पिछडा वर्गलगायतका समुदायको पहिचान, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूतिमा जोड दिएको छ। उनीहरूले संयुक्त राष्ट्रसङ्घको आदिवासी जनजातिको अधिकारसम्बन्धी घोषणापत्र (UNDRIP) र ILO १६९ अनुसार प्राकृतिक स्रोतमा स्वतन्त्र, पूर्वसुसूचित मञ्जुरी (FPIC) को अधिकारलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कार्यगत एकतालाई प्रभावकारी बनाउन केन्द्रीय, प्रादेशिक र स्थानीय गरी तीन तहको संरचना बनाइएको छ। केन्द्रीय तहमा दुवै पार्टीका अध्यक्षसहित ७र७ जना सदस्य रहने गरी एक केन्द्रीय संयोजन समिति रहनेछ, जसमा कम्तीमा दुई जना महिला अनिवार्य हुनेछन्। सबै तहका समितिहरूको निर्णय आपसी सहमतिमा हुनेछ। दुवै पार्टीले आपसी विवादलाई छलफल र समझदारीबाट समाधान गर्ने बताएका छन्।



