जनकपुरधाम । गुठीको जग्गालाई लिएर पत्रकारहरुमाथि कानून व्यवसायीहरुले आक्रमण गर्दा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारीसहित दर्जनौँ पत्रकार घाइते भएका छन्।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र कानुन व्यवसायीहरूबीच पत्रकार महासंघको भवन निर्माणका लागि लिजमा लिएको जग्गाको विषयमा भएको विवादले उग्र रूप लिँदा यो घटना भएको हो।
पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराका अनुसार, वकिलहरूको एक ठूलो समूहले पत्रकार सम्मेलनपछि पत्रकारहरूमाथि आक्रमण गरेको थियो। यस आक्रमणबाट दर्जनौं पत्रकार गम्भीर घाइते भएका छन्।
महासंघका महासचिव शैलेन्द्र महत्तो क्रान्तिको दुई–तीन ठाउँमा खुट्टा भाँचिएको छ भने पत्रकार दिवाकर रायको अवस्था अत्यन्तै गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
यस्तै, महासंघका उपाध्यक्ष ज्योति झा, पत्रकार अनिल कुमार अनल र आधा दर्जनभन्दा बढी अन्य पत्रकार पनि घाइते भई उपचाररत छन्। स्वयं अध्यक्ष श्याम बन्जारा पनि घाइते भएको, तर उपचारपछि उनी अस्पतालबाट निस्किएर घाइते पत्रकारको उपचारको व्यवस्थापनमा जुटेको बताए ।
यस विवादको मूल कारण, नेपाल पत्रकार महासंघले जनकपुरस्थित श्री राम मन्दिर गुठीको पूर्ण स्वामित्वमा रहेको ४ कट्ठा जग्गा भवन निर्माणका लागि लिजमा लिएको हो। महासंघले यो सम्झौता कानुनसम्मत तरिकाले भएको दाबी गरे पनि, सो जग्गालाई आफ्नो गाडी पार्किङ गर्ने स्थानको रूपमा प्रयोग गर्दै आएका नेपाल बार एसोसिएसनका सदस्यहरूले महासंघको काममा निरन्तर अवरोध सिर्जना गर्दै आएका थिए।
आज महासंघले पत्रकार सम्मेलनमार्फत आफ्नो जग्गा प्राप्ति विधिसम्मत रहेको जानकारी गराएकै बेला कानुन व्यवसायीहरूले आक्रमण गरेका हुन्।
एकतर्फ वकिलहरूले वार्ताको माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताउने र अर्कोतर्फ ६२ जना वकिलले मुद्दा हाल्नका लागि नाम लेखाएको भन्दै अध्यक्ष बन्जाराले उनीहरूको नियतमा खोट रहेको आरोप लगाएका छन् । उनले कानून व्यवसायीहरुको यो व्यवहारलाई ‘अराजकताको पराकाष्ठा’ र ‘म नै सर्वेसर्वा’ भन्ने मानसिकताको देखाएको बताएका छन् ।
वकिलहरूले आफैँ कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी गुठी संस्थानको जग्गा कब्जा गरेर भवन बनाएको र महासंघले विधिपूर्वक लिएको जग्गामा अवरोध गरेको उनको भनाइ छ। अध्यक्ष बन्जाराले घटनाबारे प्रहरी प्रशासनसँग कुराकानी भएको र कानुनी रूपमा प्राप्त गरिएको जग्गाका विभिन्न पक्षबारे जानकारी गराइएको बताए ।
हाल घाइतेहरूको उपचार नै प्रमुख प्राथमिकतामा रहेको र त्यसपछि महासंघले यस विषयमा थप छलफल गरी आवश्यक कदम चाल्नेछ अध्यक्ष बञ्जाराले बताए ।