ट्रेन्डिङ

रक्षाबन्धन र जनै पूर्णिमाको रौनक : देशभर नयाँ जनै र रक्षासूत्र धारण

वीरगन्ज । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन र जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा आज देशभर धार्मिक उल्लास देखिएको छ।

वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, तलाउमा स्नान गरी नयाँ यज्ञोपवीत (जनै) र रक्षासूत्र धारण गरेर यो पर्व मनाइरहेका छन्।

पौराणिक मान्यताअनुसार, सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षाको विधान तयार गरी रक्षासूत्र बाँधेर जोगाएका थिए। यही विश्वासका आधारमा आज पनि गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा’ मन्त्रोच्चारण गर्दै यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँधिदिने गर्छन्। यसले नकारात्मक शक्तिबाट सुरक्षा प्रदान गर्ने धार्मिक विश्वास छ।

यस दिन ब्राह्मण, क्षत्री र वैश्य वर्गका तागाधारीले पुरानो जनै फेरेर नयाँ धारण गर्छन्। यसका लागि उनीहरूले श्रावण शुक्ल चतुर्दशीदेखि नै व्रत बस्ने र पूर्णिमाका दिन बिहानै स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरूको तर्पण गर्ने चलन छ। अरुन्धतीसहित आठ ऋषिलाई पूजा र तर्पण गरिने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

जनै पूर्णिमाको विशेष परिकारका रूपमा क्वाँटी खाइन्छ। ११ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटीले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउनुका साथै पेट सफा गर्ने र वर्षायाममा लाग्ने चिसोबाट बचाउने आयुर्वेदिक मान्यता रहेको छ। आयुर्वेदका चिकित्सकहरूका अनुसार क्वाँटीको रसले रुघाखोकीजस्ता रोग निको पार्न पनि मद्दत गर्छ।

नेपालको तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउने गर्छन्। यसले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम सम्बन्धलाई अझ प्रगाढ बनाउने सामाजिक विश्वास छ। अहिले यो परम्परा पहाडी क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै