वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइ र न्यायको मागसहित वीरगन्जमा जनस्तरबाट हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ।
वीरगन्ज बसपार्क चोकमा तीन दिनअघि सुरु गरिएको यो अभियानमा स्थानीय बासिन्दा, व्यापारी, विद्यार्थी र सर्वसाधारणले सक्रिय सहभागिता जनाइरहेका छन्।
रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख रामसुन्दर आर्यका अनुसार हाल भैरहवा कारागारमा रहेका सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधपूर्ण कदमको विरोधस्वरूप यो हस्ताक्षर अभियान देशभर एकैसाथ सञ्चालन गरिएको हो। वीरगन्जमा दैनिक एक घण्टा सञ्चालन हुने यो अभियानको तेस्रो दिनसम्ममा ३,५०५ जनाले हस्ताक्षर गरिसकेको उनले जानकारी दिए।
आर्यले भने, “यो केवल पार्टीगत आन्दोलन मात्र होइन, यो न्याय र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने अभियान हो। जनताको समर्थनले देखाएको छ कि रवि लामिछानेलाई निष्पक्ष सुनुवाइ र न्याय दिनु जरुरी छ।”
आजको हस्ताक्षर कार्यक्रममा रास्वपा जिल्ला सभापति हरि पन्त, मधेश प्रदेश यातायात विभाग प्रमुख रामसुन्दर आर्य, मधेश प्रदेश सदस्य नविन प्रसाद चौरसिया, मनोज पण्डितलगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम स्थलमा पार्टीका कार्यकर्तासँगै सर्वसाधारणले पनि लामबारीमा उभिएर हस्ताक्षर गर्दै लामिछानेको समर्थन जनाएका थिए।