राजविराज । सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको प्रहरीको गोलीबाट भएको मृत्युप्रति नेपाल भारत खुला सिमा संवाद समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समूहले घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरीलाई कडा कारबाही गर्न माग गरेको छ। मंगलबार राति भएको यस घटनाले मानवअधिकार र राज्य संयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उठाएको समूहको भनाइ छ। लालु यादव स्थानीय विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र लाइसेन्स लिएर मदिरा व्यवसाय सञ्चालन गर्दै आएका व्यक्ति थिए। समूहका अनुसार प्रहरी प्रशासनले नियमनको नाममा दमनकारी शैली अपनाएर नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरी उनको ज्यान लिएको हो।
शान्तिपूर्ण रूपमा समाधान गर्न सकिने अवस्थामा समेत बल प्रयोग गरिनु अमानवीय भएको समूहले बताएको छ। प्रहरीसँग नियन्त्रणका अन्य विकल्प हुँदाहुँदै गोली चलाउनु शक्ति दुरुपयोगको उदाहरण भएको समूहको ठहर छ।
नेपाल भारत खुला सिमा संवाद समूहले यस घटनालाई गम्भीरतापूर्वक लिँदै सरकारसँग चार बुँदे माग राखेको छ । लालु यादवको मृत्युको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न तत्काल समिति गठन, घटनामा संलग्न दोषी प्रहरी अधिकारीहरूलाई तत्काल कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति, सुरक्षा र न्यायको सुनिश्चितता र राज्यले यस घटनालाई सामान्य रूपमा नलिई गम्भीर संवेदनशीलताका साथ सम्बोधन गर्न समूहले माग गरेको छ ।
समूहले यस्ता घटनाले राज्य र नागरिकबीचको विश्वास तोड्ने र सीमा क्षेत्रमा असन्तोष तथा अस्थिरता बढाउने चेतावनी दिएको छ। समूहका अध्यक्ष गजेन्द्र कुमार मण्डलले न्यायको सुनिश्चितता नै स्थायी शान्ति र सुशासनको आधार भएको भन्दै सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन्।