रौतहट । रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा करेन्ट लागेर एक किसानको ज्यान गएको छ।
५५ वर्षीय शेख जाफिरको आफ्नै खेतमा सिँचाइका लागि मोटर चलाउँदै गर्दा करेन्ट लागेर मृत्यु भएको हो। हिजो राति करिब ९ः ३० बजे जाफिर पानी लगाउने क्रममा विद्युतीय तारको सम्पर्कमा आएर गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुगेको करिब सवा घण्टापछि राति ११ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।
घटनाको खबर पाएलगत्तै रामपुरखाप प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकको शव हाल पोस्टमार्टमका लागि गौर अस्पतालमै राखिएको छ। प्रहरीका अनुसार, गत आर्थिक वर्षमा मात्रै जिल्लामा करेन्ट लागेर २३ जनाले ज्यान गुमाएका थिए।